काठमाडौं । कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको ज्यान गएको छ । गौरीगङ्गा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा च्याउ टिप्न गएका स्थानीय ४० वर्षीय कृष्ण चौधरीको बाघको आक्रमणमा परी मृत्यु भएको हो ।
प्रहरीका अनुसार गौरीगङ्गा नगरपालिका–६ चरीडाँडा निवासी चौधरी आज बिहानै च्याउ सङ्कलनका लागि सामुदायिक वनतर्फ गएका थिए। वनभित्र च्याउ टिपिरहेको अवस्थामा झाडीमा लुकेर बसेको बाघले उनीमाथि अचानक आक्रमण गरेको थियो । बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घटनाबारे जानकारी पाउनासाथ प्रहरीको टोली तत्कालै घटनास्थल पुगेको थियो। शवको कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि पठाउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
वन क्षेत्र आसपास बाघको त्रास बढेपछि स्थानीय प्रशासन तथा प्रहरीले वन क्षेत्रमा एक्लै नजान र उच्च सतर्कता अपनाउन स्थानीय बासिन्दासँग आग्रह गरेका छन् ।
