एजेन्सी । ब्राजिलको ग्रामाडो शहरमा निजी विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । आइतबार भएको सो दुर्घटनामा एकै परिवारका १० जनाको मृत्यु भएको हो । विमान ब्राजिलका व्यापारी लुइज क्लाउडियो ग्यालेजीले उडाएका थिए । स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनामा जमिनमा रहेका १७ जना घाइते भएका छन् । यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
खराब मौसमका कारण भएको उक्त विमान दुर्घटनामा पाइलट लुइससँगै उनकी श्रीमती, तीन छोरी र परिवारका अन्य सदस्य को मृत्यु भएको छ । सानो विमान पहिले भवनको चिम्नीमा र त्यसपछि घर तथा पसलमा ठोक्किएको बताइएको छ । दुर्घटनामा सो क्षेत्रका भवनमा पनि क्षति पुगेको छ । आइतबार बिहान विमान मात्र ३ किलोमिटर उडेपछि मानिसहरू बसोबास भएको क्षेत्रमा खसेको थियो ।
