कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ मा भेटिएको झण्डै ३१ किलो भन्दा बढी तौल भएको अजिङ्गरको वन कार्यालयले उद्धार गरेको छ । उखुबारीमा फेला परेको बर्मी जातको वयस्क अजिङ्गरको उद्धार गरेको कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार उद्धार गरिएको अजिङ्गर १३ फिट लामो र ३१ किलो पाँच सय ८० ग्राम तौलको थियो । उखु काट्ने क्रममा किसानले अजिङ्गर देखेका थिए । वन सुरक्षाकर्मी, स्थानीयवासीको सहयोगमा उद्धार गरी अमर स्मृति सामुदायिक वन क्षेत्रको सीमसार क्षेत्रमा छाडिएको कार्यालय प्रमुख यादवले बताउनुभयो । बर्मी प्रजातिका अजिङ्गरले चरादेखि सुँगुर र मृगजस्ता ठूला स्तनधारी जनावरहरूलाई समेत आहारा बनाउने गर्छ ।



