काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गुर्खाजको प्लेअफ पुग्ने सम्भवना बलियो बन्दै गएको छ। शनिबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले सजिलै पराजित गरेपछि काठमान्डु को सम्भावना बढेको हो ।
काठमान्डुले अन्तिम खेलअघि ६ अंक जोडेको छ भने पाँचौ स्थानमा उक्लिएको छ । अब उसले अन्तिम खेलमा विराटनगर किंग्सलाई पराजति गरे प्लेअफमा पुग्ने सम्भावना हुनेछ । आज पोखरा एभेन्जर्सले दिएको १३९ रनको लक्ष्य काठमान्डुले ४ विकेटको क्षतिमा १४.१ ओभरमा पूरा गर्यो ।
काठमान्डुका लागि ओपनर स्टेफन इस्किनाजीले ३४ बलमा १० चौका प्रहार गर्दै ६० रन जोडे । अर्का ओपनर माइकल लेभिटले १८ बलमा ३२ रन बनाए । भीम सार्की २२ रनमा आउट भए भने इरासमसले नटआउट २५ रन बनाए ।
बलिङमा पोखराका विपिन खत्रीले ३ विकेट लिए । उनले ३ ओभरमा १९ रन खर्चिए । टस जितेको काठमान्डुले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पोखराले ८ विकेटको क्षतिमा १३८ रन जोड्यो ।
पोखराका लागि रेमन्ड रेइफरले नटआउट ४१ रन जोडे । अन्तिम ओभरमा १७ रन प्रहार गरेका उनले ३० बलमा १ चौका र ३ छक्का प्रहार गरे । पोखराका ओपनर दिनेश खरेलले ३८ रनको योगदान गरे। छैटौँ ओभरमा रशिद खानलाई लगातार चार चौका प्रहार गरेपछि उनी अन्तिम बलमा आउट भएका थिए । उनले २५ बल खेलेर ६ चौका र १ छक्का प्रहार गरे ।
अर्का ओपनर आन्द्रेस गौस भने शून्यमाआउट भए । उनलाई दोस्रो ओभरमा गेरार्ल्ड इरासमसले माइकल लेभिटबाट क्याच गराए । कप्तान कुशल भुर्तेल ७ रन र दिलीप नाथ २७ रन जोडेर आउट भए । दुवैलाई रशिद खानले बोल्ड गरेका थिए ।
आकर्षित गोमेल ८ रनमा लेभिटको एलबिडब्लूको धरापमा पर्दा माइल लिस्क पनि करण केसीबाट १ रनमै एलबिडब्लू आउट भए । करण केसीले नारायण जोशीलाई पनि रशिद खानबाट क्याच गराउँदा डकआउटको सिकार बनाए । बलिङमा काठमान्डु का रशिद खान र करण केसीले ३र३ विकेट लिए । करणले ४ ओभरमा २४ रन दिँदा रशिदले ४३ रन खर्चिए



