रौतहट । रौतहट जिल्लामा सशस्त्र वन सुरक्षा गस्ती टोलीले अवैध रुपमा तस्करी गरिएको लाखौं रुपैयाँ बराबरको सालको काठ सहित एउटा पिकअप भ्यान बरामद गरेको छ । विशेष सूचनाका आधारमा गरिएको यस कारबाहीले वन तस्करी नियन्त्रणमा ठूलो सफलता प्राप्त गरेको छ ।
बिहीबार रेन्जर विकास लामिछानेको नेतृत्वमा गएको सशस्त्र वन सुरक्षा टोलीले महेन्द्र राजमार्गमा धनसरबाट दुई किलोमिटर पूर्व लचका भन्ने स्थानमा तस्करी भइरहेको ना २ च ९३१९ नम्बरको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिएको हो । गाडीमा साढे ८५ क्युफिट सालको काठ लोड गरिएको अवस्थामा बरामद गरिएको छ ।
गाडीका चालक जितेन्द्र चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर पठाइएको छ । जिल्ला वन अधिकृत राजेश कुमार साहका अनुसार काठ तस्करीमा संलग्न समूहबारे गहिरो अनुसन्धान भइरहेको छ ।
डिभिजन प्रमुख हेमन्त कुमार साहका अनुसार बरामद गरिएको ९ थान सालको गोलिया काठको बजार मूल्य ३ लाख रुपैयाँ भन्दा बढी रहेको छ । तस्करीका लागि प्रयोग गरिएको बोलेरो पिकअप गाडीलाई पनि नियन्त्रणमा राखिएको छ ।
सरकारले वन क्षेत्रको संरक्षणमा कडाई गर्दै आए पनि रौतहट लगायतका क्षेत्रमा वन तस्करीका घटना बारम्बार भइरहेका छन् । सशस्त्र वन सुरक्षा गस्तीले अवैध काठ तस्करी नियन्त्रणका लागि नियमित निगरानी गरिरहेको भए पनि तस्करहरूले नयाँ–नयाँ तरिकाबाट काठ ओसारपसार गर्ने प्रयास गर्दै आएका छन् ।



