सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको भीषण विद्युतीय माइक्रोबस दुर्घटनामा गाउँपालिकाका नागरिकहरूको ज्यान गएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले शुक्रबार एक दिनका लागि सार्वजनिक शोक बिदा दिएको छ ।
गाउँपालिकाद्वारा बिहीबार जारी सूचनाअनुसार दुर्घटनामा अकलकालमै ज्यान गुमाएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।
अध्यक्ष कृष्णकुमार यादवद्वारा जारी सूचनामा शुक्रबार गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्थाबाहेकका नियमित सेवा प्रवाह गर्ने अन्य सरकारी तथा गैरसरकारी कार्यालयहरू, सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पूर्ण रूपमा शोक बिदा दिइएको उल्लेख छ । यद्यपि, नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुनेछन् ।
यसैबीच, यस मर्मस्पर्शी दुर्घटनामा परि ज्यान गुमाएका चक्रघट्टा गाउँपालिकाका नागरिकहरूको परिवारलाई राहतस्वरूप गाउँपालिकाको तर्फबाट जनही ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष यादवले जानकारी दिएका छन् ।
काठमाडौँबाट चाडपर्व (छठ) मनाउन आफ्नै घर फर्कँदै गरेका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका बासिन्दाहरू यस दुर्घटनामा परेपछि सिङ्गो गाउँ नै गहिरो शोकमा डुबेको छ। यसै दुर्घटनामा परेर सुन्दरपुरका मात्रै एक गर्भवती महिलासहित १३ जनाको ज्यान गएको छ ।
चाडपर्वको उल्लास र उमङ्गमा रमाइरहेका परिवारहरूमा यस अप्रत्याशित दुर्घटनाले एकैपटक ठूलो बज्रपात पारेको छ भने स्थानीयवासीहरू स्तब्ध भएका छन् ।
