वीरगञ्ज । पर्साको वीरगञ्ज कारागारबाट एक जना कैदी फरार भएका छन् । कारागारको सुरक्षा घेरा तोड्दै पर्साको पोखरिया नगरपालिका–सतबरिया निवासी सुनिल साह फरार भएका हुन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहालले कारागारबाट कैदी फरार भएको घटनाको पुष्टि गरेका छन् । साह कुन समयमा र कसरी कारागारबाट भाग्न सफल भए भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।
कैदी फरार भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बलको टोली परिचालन गरी खोजी कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।
वीरगञ्ज भारतसँगको खुला सीमा नाका नजिकै रहेकाले फरार कैदी सीमा पार गर्न सक्ने आशङ्कामा सीमावर्ती क्षेत्र तथा मुख्य नाकाहरूमा समेत निगरानी र जाँच कडा पारिएको सुरक्षा स्रोतले जनाएको छ ।
यता, कडा सुरक्षा घेराभित्र रहने कारागारबाटै कैदी फरार भएपछि कारागार प्रशासन र सुरक्षाकर्मीको कार्यसम्पादन तथा सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा भएको छ । घटनाबारे आन्तरिक छानबिन समेत अघि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद चापागाईले जानकारी दिए ।
