वीरगञ्ज । दीपावली पर्वको समाप्तिसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आज शुक्रबारदेखि सुरु भएको लोकआस्था, निष्ठा र पवित्रताको महापर्व छठका कारण वीरगञ्जसहित समग्र तराई–मधेस क्षेत्रका गाउँबस्ती र मुख्य बजारहरूमा उत्साह र चहलपहल बढेको छ । चार दिनसम्म अत्यन्त श्रद्धापूर्वक मनाइने यस पर्वको भव्य तयारीमा तराई–मधेसवासी जुटेका छन् ।
सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने पारम्परिक भक्तिगीतहरूले यतिबेला तराई–मधेस क्षेत्रका घरआँगन गुन्जयमान बनेका छन् । वीरगञ्जको घडिअर्वा पोखरी, रानीघाट, मुर्ली, छपकैयादेखि बाराको कलैया, सिमरा, रौतहटको गौर, चन्द्रनिगाहपुर तथा महोत्तरीका ग्रामीण बस्तीहरूसम्मको वातावरण पूर्ण रूपमा छठमय बनेको छ ।
पर्वको तयारीस्वरूप पर्सा, बारा, रौतहट र महोत्तरीलगायत तराई–मधेस क्षेत्रका नदीकिनार, पोखरी तथा धार्मिक महत्त्वका जलाशयहरूमा छठघाट निर्माण, सरसफाइ र सजावटको काम भईरहेको छ । विशेषगरी स्थानीय युवा क्लब र स्वयंसेवकहरू घाट निर्माण तथा झिलिमिली बत्ती जडानमा सक्रिय देखिएका छन् ।
ग्रामीण भेगमा बाँसका भाटा र झिक्रा प्रयोग गरी बनाइएका घरका भित्ता लिपपोत तथा रङरोगन गरेर चिटिक्क पारिएको छ । सडक, चोक र सार्वजनिक स्थलहरू दुलहीझैँ सिंगारिएका छन् ।
आर्थिक हैसियतअनुसार धनी र गरिब सबैले समान श्रद्धा र निष्ठाका साथ पर्व मनाउने तयारी गरेका छन् । स्थानीयवासीको दैनिकी र भेटघाटसमेत यतिबेला छठकै तयारीमा केन्द्रित हुन थालेको वीरगञ्जका स्थानीय अनिल ओझाले बताए ।
छठ सुरु भएसँगै वीरगञ्जको माइस्थान, घण्टाघर, आदर्शनगर, मीनाबजार तथा बारा, रौतहट र महोत्तरीका प्रमुख व्यापारिक केन्द्रहरूमा पूजा सामग्री किन्ने सर्वसाधारणको भीड लागेको छ । केराका घरी, नरिवल, स्याउ, सुन्तलासहित पर्वमा आवश्यक फलफूल तथा सामग्रीको बिक्री निकै बढेको छ ।
स्थानीय किसानहरूले छठमा प्रयोग हुने उखुका लाँक्रा, अदुवा, बेसारका बोट, मुठा, ज्यामिर र जटासहितका सामग्री बजारमा ल्याउने तयारी गरिरहेका छन् । यस्ता कृषि उपजको मुख्य कारोबार शनिबार हुने वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले जानकारी दिए।
यसैगरी, पूजा सामग्री राख्न प्रयोग हुने बाँसका चोया र कप्टेराबाट बनाइएका ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खाको बिक्री बजारमा उच्च छ । बत्ती बाल्ने दियो, दही जमाउने छ्याँची, पूजा सामग्री राख्ने टौला, पानी राख्ने अङ्खरा र गाग्रीलगायत माटाका नयाँ भाँडाको मागसमेत आकाशिएको छ । छठमा नयाँ भाँडावर्तन मात्र प्रयोग गर्ने परम्पराका कारण बाँस र माटाका सामग्री बनाउने व्यवसायीहरूलाई भ्याइनभ्याइ छ ।
तराई–मधेस क्षेत्रका घरघरमा यतिबेला छठको विशेष प्रसाद मानिने ठकुवा र भुसुवासहितका परिकार तयार गर्न गृहिणीहरू व्यस्त छन् । कतिपय ग्रामीण भेगमा चामल र गहुँको पिठो घरमै ढिकी र जाँतोमा कुट्ने तथा पिँध्ने परम्परा अझै जीवित छ ।
अत्यन्त शुद्धता र पवित्रतालाई महत्त्व दिइने यस पर्वमा परिवारका सबै सदस्यले एकअर्कालाई सघाउँदै प्रसाद तयार गर्छन् । बहुदरमाई नगरपालिका २ की ५५ वर्षीया शान्तिदेवी साहले छठ पर्वको तयारीमा बाहिरी सजावटभन्दा पनि भित्री मनको शुद्धता र निष्ठा नै सबैभन्दा महत्त्वपूर्ण पक्ष रहेको बताइन् ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्व आज ‘नहाय–खाय’ विधिबाट विधिवत् सुरु भएको छ । यस दिन व्रतालुहरूले पवित्र जलाशयमा स्नान गरी चोखो खानेकुरा ग्रहण गर्छन् ।
पर्वको दोस्रो दिन शनिबार ‘खरना’ गरिनेछ, जसमा दिनभर उपवास बसी साँझ सख्खरको खिर र रोटी पकाएर कुलदेवता र छठीमातालाई चढाएपछि व्रतालुले ग्रहण गर्छन् ।
त्यसैगरी, तेस्रो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई र चौथो दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि चारदिने महापर्व विधिवत् सम्पन्न हुन्छ ।
तराई–मधेस क्षेत्रको सांस्कृतिक पहिचान बोकेको छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश समेत प्रवाह गर्छ। पुराना मनमुटाब बिर्सेर धनी–गरिब र जातीय वा सामुदायिक विभेद नगरी सबैले एउटै घाटमा एकै लहरमा बसेर सूर्यदेवको आराधना गर्ने अनुपम परम्परा यस पर्वको मुख्य विशेषता हो । सूर्यदेव र षष्ठीदेवीको उपासनाले परिवारमा सुख, शान्ति, सुस्वास्थ्य र कल्याण प्राप्त हुने जनविश्वास रहिआएको छ ।
