काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको उपाधि नेदरल्यान्ड्सले जितेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेट पराजित गरेको हो । नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । नेदरल्यान्ड्सको जितमा माइकल लेभिट र म्याक्स ओडोउड पहिलो विकेटको लागि ८२ रनको साँझेलारी गरेका थिए ।
माइकल लेभिटले २९ बलमा ५४ रनको योगदान गरे । यसैगरी साइब्रान्ड एङ्गेलब्रेख्तले ४८, विक्रमजित सिंहले २९, म्याक्स ओडोउडले २२ र टिम भान डेर गुग्टेन अविजित २१ रन बनाए । नेपालका लागि कुशल मल्ले ४, अबिनाश बोरा र दीपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४७ रन बनाए ।
यस्तै गुसन झाले ३४ रन बनाए । कप्तान रोहित कुमार पौडेलले २५ रन, ओपनर कुशल भुर्तेल २० रन, कुशल मल्ल ११ बलमा ३ छक्का प्रहार गर्दै २६ रनमा आउट भए । त्यस्तै करण केसी ९ र दीपेन्द्र सिंह ऐरी १ रनमा आउट भए । आरिफ शेख शून्य रनमा आउट भए ।
सोमपाल कामी र प्रतिश जिसी समान ६ रनमा अविजित रहे । नेदरल्यान्ड्का लागि टिम भ्यान डर गुग्टेन, माइकल लेविट, साइब्रान्ड एङ्गलब्रेख्त र फ्रेड क्लासेनले समान २/२ विकेट लिए । नेपाल, नामिबिया र नेदरल्यान्ड्स समिलित सिरिजमा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेको थियो ।
