वीरगञ्ज । पर्सा प्रहरीले लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित २ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चौकस्थित सडकखण्डबाट प्रहरीले २ जनालाई पक्राउ गरेको हो । प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ् टोलीले भारत रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका सवारी साधन तथा पैदल यात्रुलाई चेकजाँच गरेको थियो ।
चेकजाँचको क्रममा शंकास्पद अवस्थामा प्र।२–०३–००८ प १४३४ नम्बरको स्कुटीमा सवार रौतहटको गुजरा नगरपालिका वडा नम्बर ३ कटानी बस्ने ३२ वर्षीय भिमबहादुर वाईवा र पछाडी सवार सोही ठाउँका २५ वर्षीय मिलन तामाङ्लाई प्रहरीले पक्राउ गरेको हो ।
स्कुटी चालक भिम वबहादुर वाईवाले लगाएको हेल्मेटभित्र लुकाईछिपाई राखिएको लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक १२ ग्राम २४० मिलिग्राम फेला परेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । प्रहरी नायब उपरीक्षक थापाकाअनुसार उनीहरुलाई नियन्त्रणमा लिई लागूऔषध कसूर सम्बन्धी थप अनुसन्धान भइरहेको छ ।
