रौतहट । रौतहटको पश्चिम उत्तरी भेग फतुवा विजयपुर नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । फतुवा विजयपुर–११ बुट्वा राङि गाउँमा आज बिहान आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा ७० वर्ष कि पातली तामाङको मृत्यु भएको हो ।
हात्तीले मृतकको घरमा पूर्ण रूपमा क्षति पुर्याएको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर इन्द्रमणि अधिकारीले घटनाको पुष्टि गरेका छन् । जङ्गली हात्तीले एक्कासि घर माथि आक्रमण गर्दा मृतकको श्रीमान् भागेर ज्यान बचाएका थिए ।
हात्तीले एउटा अर्को घरमा पनि क्षति पुर्याएको इन्स्पेक्टर अधिकारीले जानकारी दिए । हाल नेपाल प्रहरी, डिवीजन वन कार्यालय चन्द्रिगाहपुर र सशस्त्र बेस क्याम्प विजयपुरको टोली घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
