इजरायलमा बेन्जामिन नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन भएको छ । प्रदर्शनको हजारौं मानिस सडकमा उत्रिए । गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि प्रदर्शन सुरु भएको हो ।
प्रधानमन्त्री बिन्यामिन नेतान्याहुको सरकारले बन्धकहरूलाई रिहा गर्न हमाससँग सम्झौता गर्नुपर्ने जनताको माग छ । तेल अवीव, जेरुसेलम र अन्य धेरै सहरहरूमा इजरायली झण्डा बोकेर प्रदर्शनकारीहरू निस्किएका थिए ।
प्रधानमन्त्री नेतान्याहु र उनको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्न काम नगरेको उनीहरूको आरोप छ । गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गरेको थियो ।
आइतबार शान्तिपूर्ण रूपमा आन्दोलन सुरु भएको हो । तर आन्दोलनकारीले पछि पुलिस अवरोधहरू तोड्दै तेल अवीवका प्रमुख राजमार्गहरू अवरुद्ध गरेका थिए । उनीहरूले टायर पनि जलाएका थिए ।
इजरायलको ट्रेड युनियनले सोमबार देशव्यापी हडतालको घोषणा गरेको छ । इजरायल डिफेन्स फोर्स (आइडिएफ) ले शनिबार दक्षिणी गाजाको रफाहमा रहेको सुरुङमा छ वटा शव फेला पारेको बताएको थियो । शनिबार आइडिएफले उनीहरूसम्म पुग्नुअघि नै बन्धकहरूलाई मारिएको थियो ।



