बारा प्रहरीले भन्सार छलीका कपडा बरामद गरेको छ । प्रहरीले बाराको अमलेखगंजबाट एक लाख पचास हजार रकम बराबरको भन्सार छलीका कपडा बरामद गरेको हो । जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २१ अमलेखगंज चोक बाट वीरगन्ज देखि काठमाण्डौँँ तर्फ जादै गरेको ना ५ ख २४६४ नम्बरको यात्रु बाहक बसबाट उक्त कपडा बरामद भएको प्रहरीले जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले बसलाई रोकेर चेकजाँच गर्दा स्रोत नखुलेको एक लाख पचास हजार रकम रुपैया बराबरको रेडिमेड कपडा नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता तथा सुचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिनुभयो । नियन्त्रणमा लिएको कपडा आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीको भनाई छ ।
