२० असोज, वीरगञ्ज । पर्सा प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएका लाखौँ मूल्य बराबरका मालसामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले दुई बेग्लाबेग्लै स्थानबाट १० लाख ६ हजार ७ सय ६० रुपैयाँ बराबरका मोबाइल, कस्मेटिक सामान तथा स्याउ बरामद गरेको हो ।
प्रहरीका अनुसार गत आईतबार बिहान करिब ९:३० बजे वीरगञ्ज महानगरपालिका वडा नं. १४ स्थित गण्डक चोकबाट अवैध रूपमा भित्र्याइएका ५ लाख ५२ हजार २ सय १० रुपैयाँ मूल्य बराबरका आईफोन बरामद गरिएको थियो । बरामद गरिएका मोबाइलमा ‘एप्पल कम्पनी’ का ३ थान ‘अईफोन १७’ र १ थान ‘अईफोन १५’ रहेका छन् ।
त्यसैगरी, सोही दिन साँझ करिब ६:३० बजे वीरगञ्ज–१६ स्थित रजतजयन्ती चोकबाट भन्सार छली ल्याउँदै गरेको करिब ४ लाख ५४ हजार ५ सय ५० रुपैयाँ मूल्य बराबरका कस्मेटिक सामान र स्याउ प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बरामद गरिएका सम्पूर्ण मालसामानहरू आवश्यक कानुनी कारबाहीका लागि सोमबार वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिएका छन् ।
