२१ असोज, काठमाडौँ । यो वर्षको विजयादशमीको टीकाको उत्तम साइत कार्तिक ४ गते बुधबार बिहान १०:२६ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडादसैँ २०८३ का विभिन्न धार्मिक कृत्य तथा पूजाआजाका लागि शुभसाइत सार्वजनिक गरेको हो ।
समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार विजयादशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जन गरी बिहान १०:२६ बजेको शुभसाइतमा टीका ग्रहण गर्न सकिनेछ ।
यसअघि असोज २५ गते आइतबार बिहान ११:४७ बजे घटस्थापनाको शुभसाइत रहेको छ । त्यसैगरी, असोज २६ गते सोमबार बिहान १०:०७ बजे पश्चिम मोहडा फर्काएर झण्डा फेर्ने शुभसाइत तय गरिएको छ। धार्मिक परम्पराअनुसार असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा हुनेछ ।
त्यस्तै, असोज ३१ गते शनिबार फूलपाती परेको छ। सोही दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७:३७ बजे र स्थिरासनको शुभसाइत बिहान १०:३९ बजे रहेको समितिले जनाएको छ । त्यसपछिको दिन कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि पूजा गरिनेछ भने कार्तिक ३ गते मङ्गलबार महानवमी पर्व मनाइनेछ ।

