काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो लगाएत मनसुनजन्य घटनाको पूर्वतयारीलाई थप प्रभावकारी बनाउदै लैजाने बताउनुभएको छ ।
सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उहाले दिर्घकालीन रुपमा नै मनसुनजन्य घटनाको पूर्वतयारीलाई बलियो तथा प्रभावकारी बनाउने र यसका लागि राज्य का संयन्त्रहरुलाई थप जिम्मेवार बनाइने बताउनुभएको हो ।
उहाले यस बर्ष अत्याधिक बर्षा हुँदा तुलनात्मक रुपमा यसअघि भन्दा कम क्षति हुनुको कारण पूर्व तयारी रहेको जिकिर गर्नुभयो ।
उहाले सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनको अध्ययन भइरहेको भन्दै त्यसका सुझावका आधारमा मन्त्रालयले काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
बिकास गर्दा आधारभूत मापदण्ड पालना नगर्दा भविष्यमा ठूलो क्षति हुने गरेको भन्दै उहाले बिकासका कामको मापदण्डमा छलफलको आवश्यकता रहेको धारणा राख्नुभयो ।
बैठकले बाढी, पहिरो लगाएत मनसुनजन्य घटना एवं विपद् व्यवस्थापन सम्बन्धमा भएका काम कारवाही तथा सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयन कार्ययोजनाका बिषयमा गृहमन्त्रीसंग छलफल गरेको हो ।
