२० असोज, वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिका–४ मा गैरकानुनी रूपमा भइरहेको मदिरा बिक्री-वितरण र सेवनको विरोध गर्दा दुई पक्षबिच झडप भएको छ । झडपमा परी आठ जना घाइते भएका छन् भने दुई जनाको टाउकोमा गम्भीर चोट लागेको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार किराना पसलमा अवैध रूपमा मदिरा बिक्री गरिएको र स्थानीय युवालाई मदिरा सेवन गराइएको विषयलाई लिएर विवाद सुरु भएको थियो ।
स्थानीय माधव राउत यादवका अनुसार उनका भतिजा अशोक यादवलाई गाउँकै कमल राउत यादवले आफ्नो किराना पसलमा दिउँसो करिब २ बजेसम्म मदिरा सेवन गराएपछि अशोक अचेत अवस्थामा पुगेका थिए । अशोकलाई घर लैजाने क्रममा मदिरा नखान सम्झाउँदै दर्ताबिना पसलमा मदिरा बेचेको विषयमा प्रश्न उठाएपछि विवाद शुरु भएको थियो ।
माधवका अनुसार उक्त किराना पसलमा मदिरा बिक्री-वितरणका लागि कुनै कानुनी अनुमति वा दर्ता छैन । अनुमतिबिना गाउँघरका पसलमा निर्बाध मदिरा बिक्री हुँदा स्थानीय युवाहरू दुर्व्यसनमा फस्ने र सामाजिक विकृति निम्तिने भन्दै गाउँलेहरूले चिन्ता व्यक्त गरेका छन् ।
अवैध मदिरा बिक्रीको विषयमा कुराकानी भइरहँदा पसल सञ्चालक पक्षले आफन्तहरूलाई बोलाएर एक्कासि हातपात र कुटपिट गरेपछि घटनाले भिडन्तको रूप लिएको पीडित पक्षको आरोप छ ।
घटनामा आरोपित भनिएका कमल राउत यादव तथा उनको पक्षको विस्तृत धारणा भने सार्वजनिक भइसकेको छैन । घटनाको वास्तविक कारण, मदिरा बिक्रीको कानुनी हैसियत र झडपमा संलग्न व्यक्तिहरूबारे स्थानीय प्रहरी निकायबाट आधिकारिक विवरण आउन बाँकी छ ।
स्थानीय युवा बासिन्दाहरूले भने अनुमति नलिई अवैध रूपमा सञ्चालित मदिरा पसलहरूमाथि तत्काल अनुगमन गरी बन्द गराउन र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न स्थानीय प्रशासन तथा प्रहरीसमक्ष माग गरेका छन् ।
