वीरगञ्ज । पर्सामा ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यो वर्ष पर्याप्त पानी परेकाले ९० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । पर्सामा धानको ब्याड राखेको ठाउँबाहेक अन्य स्थानमा रोपाइँ अन्तिम चरणमा पुगेको केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहाले जानकारी दिए ।
गत वर्षको तुलनामा यो वर्ष धान रोपाइँ धेरै भएकाले यहाँ ५ देखि ७ प्रतिशतसम्म धान धेरै फल्ने अनुमान गरेको कुशवाहाले बताए । केन्द्रका अनुसार हालसम्म पर्सामा ४२ हजार तीन सय ९२ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ । पर्सामा ४७ हजार एक सय तीन हेक्टरमा धानखेती हुने गरेको छ । गण्डक नहरबाट पनि समयमा नै पानी उपलब्ध भएकाले रोपाइँ सहज भएको हो ।
