काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चशिक्षाका लागि नेपाली विद्यार्थी विदेशिने क्रमलाई रोक्दै देशमा नै अवसर सिर्जना गर्नुपर्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको सिनेटलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने वातावरण बनाउनुपर्ने बताउनुभएको हो ।
समयको माग अनुसार अध्ययन अध्यापनलाई अनुसन्धानमूलक एवं प्रविधिमैत्री बनाउँदै ठुलो सङ्ख्यामा विद्यार्थी विदेशिने क्रमलाई स्वदेशमै केन्द्रित गर्न उहाले आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले उचित जनशक्तिका साथै विश्वविद्यालय सेवामा प्रवेश गरिसकेका जनशक्तिलाई क्षमता अभिवृद्धि र अनुसन्धानका अवसर प्रदान गर्दै टिकाइराख्ने विषय अहिलेका ज्वलन्त सवाल भएको उल्लेख गर्नुुभयो ।
प्रधानमन्त्री ओलीले विगतदेखि नै बेरुजु घट्न नसकेकाले रु २८ अर्व बेरुजु देखिएको सम्परीक्षण गराइएपछि त्यो रकम घट्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकारबाट प्राप्त हुने रकमलाई विश्वविद्यालय अनुदान आयोगबाट विश्व विद्यालय हरुलाई वितरण हुने भएकाले अनुसन्धानको हाल तोकिएको रकममा कटौती नहुने स्पष्ट गर्नुभयो । विश्वद्यालयमा समावेशीता सहभागिताका आधारमा परिणाम निकाल्न सक्ने गरी निर्णय हुनुपर्ने उहाले बताउनुभयो ।
बैठकले विभिन्न संकायबाट ६२ औँ ग्रेसलिष्टमा समाविष्ट ७३ हजार नौ सय ९५ विद्यार्थीलाई उपाधि प्राप्तिका लागि अनुमति प्रदान गरेको छ भने चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।
