काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नयाँ संसद भवन निर्माणमा भइरहेको ढिलाईबारे चासो व्यक्त गर्नुभएको छ । शुक्रबार सिंहदरबारमा राष्ट्रियसभा अध्यक्षसहित उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, भवन निर्माण आयोजना लगाएत सरोकारवाला निकायसंग छलफल गर्दै सभामुख घिमिरेले संसद भवन निर्माणमा भइरहेको ढिलाईबारे चासो व्यक्त गर्नुभएको हो ।
उहाले नयाँ संसद भवनलाई उच्च प्रविधिमैत्री बनाएर समयमा नै निर्माण सम्पन्न गर्न ध्यानाकर्षण गराउनुभयो । उहाले भवन निर्माण गर्दा प्रविधिका क्षेत्रमा सम्झौता नगर्न निर्देशन दिनुभयो ।
सभामुख घिमिरेले नयाँ संसद भवन निर्माणको वर्तमान अवस्थाका बारेमा जानकारी लिदै गुणस्तरीय काममा जोड दिनुभयो । अहिले भइरहेको प्रगतिका आधारमा आगामी एक महिनामा हुने प्रगतीको जानकारी लिइने उहाले बताउनुभयो ।
त्यस्तै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद भवन निर्माणसम्पन्न गर्ने क्रममा कुनै कमीकमजोरी गर्न नहुने बताउनुभयो । आधुनिक प्रविधिको प्रयोगका साथै विश्वलाई नमूनाका रुपमा देखाउन सक्ने गरि संसद भवनको निर्माण सम्पन्न गर्नुपर्ने उहाले बताउनुभयो ।
त्यस्तै उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले ७६ सालदेखि निर्माण भएको भवन निर्माण ढिलाई हुनुको कारण पहिचान गरेर समस्या समाधान गर्नुपर्ने बताउनुभयो । उहाले अव समयमा नै सम्पन्न गर्नका लागि सवैसंग जानकारी लिएर समस्या पहिचान गर्ने उल्लेख गर्नुभयो ।
त्यस्तै शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगतको विशेष भवन निर्माण आयोजनाका निर्देशक मचाकाजी महर्जनले निर्धारित समयमा नै सम्पन्न गर्न प्रयास गरिरहेको भन्दै निर्माण व्यवसायीहरुको समस्या समाधान गर्न नसकेको गुनासो गर्नुभयो । संघीय संसद भवनको ८१ प्रतिशत भौतिक प्रगति भएको र आगामी चैत्र १८ गतेको समयसिमाभित्रै सम्पन्न गर्ने गरि काम भइरहेको उहाले बताउनुभयो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गर्नुभएको थियो । तीन वर्षमा निर्माण सक्ने लक्ष्य अनुसार काम सुरु गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद थप गरिदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण गरिएको छ ।



