२२ असोज, काठमाडौँ । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने मूल नाराका साथ विविध सचेतनामूलक कार्यक्रमहरू आयोजना गरी आज देशभर विश्व दृष्टि दिवस मनाइँदैछ। हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार मनाइने यो दिवसले व्यक्तिगत रूपमा आँखाको नियमित हेरचाह र सुरक्षाका लागि प्रेरित गरेको छ।
यस वर्षको नाराले सरकार तथा सरोकारवाला निकायहरूलाई सबै नागरिकका लागि सर्वसुलभ, पहुँचयोग्य र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ। साथै, विद्यालय, कार्यस्थल र नीति निर्माण तहमा आँखा परीक्षण तथा जनचेतनामूलक गतिविधिहरूलाई व्यापक रूपमा विस्तार गर्नुपर्नेमा विशेष जोड दिइएको छ।
नेपालमा अन्धोपनको दरमा उल्लेख्य कमी आएको तथ्यांकले देखाउँछ । सन् १९८१ मा नेपालमा अन्धोपनको प्रचलन ०.८४ प्रतिशत रहेकोमा सन् २०२२ को ‘आरएएबी’ (RAAB) सर्वेक्षण अनुसार यो घटेर ०.२८ प्रतिशतमा झरेको छ । तर अन्धोपनको दर घटे पनि आँखा स्वास्थ्यका समग्र चुनौतीहरू भने अझै साम्य भइसकेका छैनन् ।
नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्रका अनुसार पछिल्लो समय ग्लुकोमा (जलविन्दु), आँखाको पर्दासम्बन्धी जटिलता, मधुमेहजन्य दृष्टि समस्या, उमेरजन्य आँखाका रोग र दृष्टिदोषजस्ता समस्याहरू तीव्र रूपमा बढिरहेका छन् । मानिसको बढ्दो औसत आयु, नसर्ने रोगहरूको भार, बदलिँदो खानपान तथा जीवनशैली र डिजिटल उपकरणहरूको अत्याधिक प्रयोगले आँखाको स्वास्थ्यमा नयाँ र गम्भीर जोखिमहरू थपेको डा. मिश्रले बताए ।
नेपालमा आँखा उपचारका क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको नेपाल नेत्रज्योति सङ्घले हालसम्म ५ करोड २ लाख ४८९ जनालाई उपचार सेवा प्रदान गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको सफल शल्यक्रिया गरिसकेको छ । सङ्घले आफ्ना २८ वटा आँखा अस्पताल तथा ४४ जिल्ला शाखामार्फत सञ्चालित २२६ वटा उपचार केन्द्रबाट नेपालीका साथै विदेशी नागरिकहरूलाई समेत निरन्तर गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।
