२२ असोज, काठमाडौं । चाडपर्वको समयमा यात्रुसँग सरकारले तोकेको भन्दा बढी भाडा नलिन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात व्यवसायीहरूलाई निर्देशन दिएको छ।
महासंघका महासचिव डेकनाथ गौतमले निर्धारित मापदण्डभन्दा बढी भाडा असुल गर्ने सवारी साधनलाई कानुनबमोजिम कारबाही हुने स्पष्ट गर्दै दसैँमा यात्रुको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन व्यवसायीहरूलाई आग्रह गरेका छन्।
सरकारको निर्णयअनुसार बडा दसैँलाई लक्षित गरी असोज २३ गतेदेखि देशभर अग्रिम टिकट बुकिङ खुला गरिने भएपछि महासंघले सातवटै प्रदेश, जिल्ला समितिसहित गोङ्गबु बसपार्कका कर्मचारीलाई विशेष निर्देशन जारी गरेको छ।
टिकट काउन्टरमा कार्यरत कर्मचारीले अनिवार्य रूपमा तोकिएको पोसाक र परिचयपत्र लगाउनुपर्ने तथा यात्रुसँग नम्र र संयमित व्यवहार गरी सहज सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरिएको महासंघले जनाएको छ।


दसैँको भीडभाडलाई ध्यानमा राख्दै असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। यद्यपि औषधि, खाद्यान्न र फलफूल बोकेका अत्यावश्यक सवारी साधनमा भने उक्त व्यवस्था लागू हुने छैन।
त्यस्तै, घटस्थापनादेखि कात्तिक १० गतेसम्म नेपालभर मध्यम तथा लामो दूरीका यात्रुवाहक सवारी साधनका लागि रुट परमिट खुला गरिएको छ।
यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सवारी साधनको ‘फिटनेस’ परीक्षणलाई समेत तीव्रता दिइएको छ। यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय टेकुको प्राविधिक टोलीले गोङ्गबु बसपार्कमै पुगेर सवारी साधनको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको छ।
उपत्यकाका प्रमुख नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षको अनुगमनका लागि विभाग र महासंघबाट ‘फोकल पर्सन’सहितको विशेष टोलीसमेत परिचालन गरिने महासंघले जनाएको छ।
