२२ असोज, काठमाडौं । भारतमा मतदाता नामावलीको पुनरावलोकन प्रक्रियालाई लिएर निर्वाचन आयोग र विपक्षी दलहरूबीच चर्को विवाद उत्पन्न भएको छ ।
यसै राजनीतिक तनाबका बीच प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै संसद्का विपक्षी दलका नेता राहुल गान्धीले प्रदर्शनको नेतृत्व गरिरहेका छन् । नयाँ दिल्लीमा आयोजित ती प्रदर्शनहरूमा सहभागी हुने क्रममा प्रहरीले राहुल गान्धीलाई मात्र दुई दिनको अन्तरालमा तीन पटकसम्म नियन्त्रणमा लिइसकेको छ ।
निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै र मतदाता नामावलीमा गरिएको परिमार्जनले विपक्षी समर्थकहरूलाई जानाजान प्रभावित पारेको आरोप लगाउँदै विपक्षी सांसद तथा युवा संगठनहरूले सडक आन्दोलन तीव्र पारिरहेका छन् ।
निर्वाचन आयोगले ‘स्पेसल इन्टेन्सिभ रिभिजन’ (एसआईआर) नाम दिएर चलाएको यस अभियानअन्तर्गत हालसम्म १३ करोडभन्दा बढी नाम मतदाता सूचीबाट हटाइसकेको छ। आयोगले दोहोरो नाम र अन्य त्रुटिहरू सच्याएर सूचीलाई शुद्ध बनाउन यो कदम चालिएको दाबी गरे पनि विपक्षी दलहरूले भने यसमा गम्भीर राजनीतिक पक्षपात भएको आरोप लगाएका छन् ।
उनीहरूको मुख्य आपत्ति छनोटका क्रममा भाजपालाई फाइदा पुग्ने गरी विपक्षी समर्थकहरूको नाम हटाइएको भन्नेमा छ । लगातारको यो विरोध प्रदर्शन र निर्वाचन निकायको विश्वसनीयतामाथि उठेका प्रश्नहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि ठूलो राजनीतिक दबाब सिर्जना गरेका छन् ।
