काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्यसम्पादन अघि बढाउनका सुझाव दिन राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । शुक्रबार सिंहदरबारमा एमालेको सुझाव–पत्र ग्रहण गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुले विरोध मात्रै नभई सरकारको कार्यसम्पादन अघि बढाउनका लागि समाधानका उपायसहितको सुझाव दिन आग्रह गर्नुभएको हो ।
उहाले सरकारलाई अघि बढाउने बिषयमा दलहरु सुझाव मूल्यवान हुने धारणा राख्नुभयो । ओलीले सरकारको ध्यान समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा केन्द्रीत रहेको धारणा पनि राख्नुभयो । आगामी विक्रम सम्वत २१०० अर्थात १९ बर्षमा समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई पुरा गर्ने लक्ष्यका अघि बढ्ने नप उहाले बताउनुभयो ।
सो क्रममा एमालेका महासचिव शंकर पोखरेलले एमालेका २८ वटा बिभागहरुबाट प्राप्त सुझावहरु प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गर्नुभएको थियो । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुशासन, आर्थिक क्षेत्रको सुधार, मौलिक अधिकार स्थापीत लगाएतका बिषयमा ध्यान केन्द्रीत गर्न सुझाव दिइएको बताउनुभयो ।
एमालेले पार्टीले दिएका सुझावहरुको अध्ययन र कार्यान्वयनले जनतामा आशा र भरोसा जगाउन महत्वपूर्ण योगदान हुने विश्वास लिएको जनाएको छ ।



