एजेन्सी । इजरायल-हमास युद्ध शुरु भएयता प्यालेस्टाइनी क्षेत्रमा १ लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित भएका छन् । संक्रमित हुनेमा अधिकांश बालबालिका र बूढाबूढी रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
वफा एलवानका पाँच वर्षीय छोरा आक्रमणबाट घर क्षतविक्षत बनेपछि पालमा बस्न थालेको निकै महिना भइसक्यो । उनलाई सुत्न समस्या भइरहेको छ तर द्वन्द्वरत गाजाको ‘टेन्ट शहर’ मा एलवान र उनका सात बच्चा आश्रय लिइरहेका छन् र उनीहरू सुत्न नसक्नुको कारण युद्धको बन्दुक होइन ।
‘मेरो छोरो रातभरि निदाउन सक्दैन किनभने उसले छालासम्बन्धी रोगका कारण शरीरलाई स्थिर राख्न सक्दैन’,आमा एलवानले भनिन्। बालकको पैताला र गोडाको माथिल्लो भागमा रातासेता धब्बा छन् । उसको टी-शर्टमुनि यस्ता धेरै धब्बा छन् । उनी छालाको संक्रमण, ठेउला, लुतो, घमौरा, जुकालगायत अन्य समस्याबाट पीडित धेरै गाजावासीहरूमध्ये एक हुन् ।
‘हामी भुईंमा सुत्छौँ, बालुवामा सुत्छौँ, जहाँ कीरा बाहिर निस्कन्छन्’, एलवानले भनिन् । उनको परिवार मध्य गाजा शहर देइर अल-बलाको नजिक समुद्रको नजिक बलौटे टुक्रामा बस्ने हजारौँ विस्थापितमध्ये एक हो । एलवानको विचारमा संक्रमण अवश्यंभावी छ ।
उनले भनिन्, ‘हामी आफ्ना छोराछोरीलाई पहिलेजस्तो नुहाउन सक्दैनौँ । त्यहाँ हात, गोडा र शरीर धुन चाहिने कुनै उत्पादन छैनन् ।’ आमाबाबुले छोराछोरीलाई भूमध्यसागरमा नुहाउन भन्थे तर युद्धले आधारभूत सुविधा ध्वस्त पार्दा उत्पन्न प्रदूषणले रोगको जोखिम बढाएपछि समुद्रमा नुहाउने सम्भावना पनि छैन। सबै फोहर र प्रदूषित बनेको छ । ‘उनीहरूले दिसा र बच्चाको दिसा पुछेका टाला पनि समुद्रमा फ्याँक्छन्’, उनले भनिन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार गाजामा युद्ध शुरु भएयता लुतो र जुकाका ९६ हजार ४१७, ठेउलाका ९ हजार २७४ विरामी भेटिएका छन् । प्यालेस्टिनी क्षेत्रमा लुतो र ठेउलाको महामारी छ। क्लिनिकमा दुईजना केटाले आफ्नो हातगोडा‚ ढाड र पेटमा दर्जनौं ठेउलाका दाग र फोका र लुतो र यसले बनाएका घाउ देखाए ।
गाजाका डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) का मेडिकल कोअर्डिनेटर मोहम्मद अबु मुगाइसिबले भने, ‘बालबालिका खेलप्रिय र अन्जान हुन्छन् । उनीहरू बाहिर खेल्छन्, कुनै पनि चीज छुन्छन्, कतिपय खानेकुरा नधोईकन खान्छन् ।’
अबु मुगैसीबका अनुसार गर्मीले पसिना र फोहर जम्मा हुने सम्भावना बढी हुन्छ जसले लुतो, एलर्जी र छालाजन्य अन्य रोगको सङ्क्रमणको सम्भावना बढाउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार झाडापखालाका ४ लाख ८५ हजार विरामी भेटिएका छन् ।
