काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भाद्र मसान्तसम्म बुढिगण्डकी आयोजना निर्माणको सुनिश्चितता गर्न सरकारलाई अल्टिमेटम दिनुभएको छ ।
बुढीगण्डकी कोरिडोर बहुउदेश्यीय आयोजनाको निर्माण सुरु गर्नुपर्ने माग राख्दै शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउदै भट्टराईले भाद्र मसान्तसम्म आयोजना निर्माणको सुनिश्चितता गर्न सरकारलाई अल्टिमेटम दिदै आफुहरुको माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिनुभएको हो ।
उहाले अहिलेको विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रुपमा रहेको संरचनाले उक्त आयोजना निर्माण गर्न नसक्ने बताउनुभयो । आयोजना निर्माणका लागि अधिकार र साधनस्रोत सम्पन्न बुढीगण्डकी कोरिडोर बिकास प्राधिकरण तुरुन्त गठन गर्नुपर्ने उहाको माग छ । त्यस्तै भट्टराईले आयोजना प्रभावित नागरिकहरुका जायज मागहरुलाई यथासिघ्र सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
उक्त परियोजना सुरुवात पछिका सरकारहरुले चासो नदिएको र पटक पटक योजना र कार्यान्वयनको मोडालिटी परिवर्तन गर्र्नु उचित नभएको भट्टराइले बताउनुभयो । समयमा नै आयोजना सम्पन्न नहुदा लागत बढेर रु २ खर्व ६० अर्वबाट ४ खर्व पुग्न लागेकाले सरकारले विशेष ध्यान दिनुपर्ने उहाको भनाइ छ



