काठमाडौं । नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले टेरामक्म प्रविधि नेपालको हितमा रहेको बताउनुभएको छ ।शुक्रबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै उहाले टेरामक्म प्रविधि टेलिफोनमा गैरकानुनी धन्दा गर्नेलाई नियन्त्रण गर्ने विधि भएको बताउँदै यसले राज्यको वार्षिक रु २५ अर्ब घोटाला हुनबाट जोगिने बताउनुभएको हो ।
ठूलो आट गरेर सुरु गरेको उक्त प्रविधिलाई रोक्न र भाँड्न केही तत्व सक्रिय रहेको उहाले बताउनुभयो । उहाले टेरामक्मका बिषयमा केहि सांसदहरुले अनावश्यक टिकाटिप्पणी गरेको भन्दै आपत्ती जनाउनुभयो । त्यस्तै उहाले बर्सेनि बाढी, पहिरो र डुबानबाट ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै समयमै यसको तयारी थाल्न सरकारसँग आग्रह समेत गर्नुभयो ।
त्यस्तै नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने बताउनुभयो । सांसद गुरुङले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको जनताको बहुदलीय जनवादको सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभयो ।
उहाँले जननेता भण्डारीले संसदलाई शान्तिपूर्ण सङ्घर्षको क्षेत्र बनाउनुपर्नेमा जोड दिनुभएको र शान्तिपूर्ण क्रान्तिबाट मुलुकको विकास हुने विचार राख्नुभएको जिकिर गर्नुभयो ।
त्यस्तै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एसइई परीक्षाको परीक्षाफलमा ५२ प्रतिशत असफल भएको भन्दै यसका बारेमा गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो । उहाले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्नुपर्ने र संघीय शिक्षा ऐनलाई परिमार्जन सहित पारित गर्नुपर्ने धारणा राख्नुभयो ।
बैठकमा ऊर्जा जल स्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जलस्रोत विधेयक २०८१ प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक असार १६ गते आइतबार बोलाइएको छ ।



