काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज आइतबार एक मात्र खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा साँझ ५ बजे फ्लडलाइटमुनि जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् ।
प्रतियोगितामा अहिलेसम्म जनकपुर बोल्ट्सले मिश्रित नतिजा निकालेको छ । खेलेका दुई खेलमध्ये जनकपुरले एक जित र एक हारको सामना गरेको छ । पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा भने शानदार पुनरागमन गर्दै काठमाडौँ गोर्खाजलाई ८ विकेटले पराजित गरेको थियो । आजको खेल जित्दै जनकपुर प्रतियोगितामा आफ्नो सुखद यात्रालाई निरन्तरता दिने रणनीतिमा हुनेछ ।
अर्कातर्फ, पोखरा एभेन्जर्स भने प्रतियोगितामा आफ्नो पहिलो जितको खोजीमा मैदानमा उत्रिँदैछ । पोखराले आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार व्यहोरेको थियो। आजको खेल जितेर अङ्क तालिकामा खाता खोल्ने दाउमा पोखरा रहेको छ ।
