काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज (बुधबार) पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने यो रोमान्चक खेल नेपाली समयअनुसार साँझ ठीक ५ बजे फ्लडलाइटको उज्यालोमा सुरु हुनेछ ।
आजको खेल पोखरा एभेन्जर्सका लागि यस वर्षको एनपीएल यात्राको पहिलो खेल हो। गत दोस्रो संस्करणमा समग्रमा ६ अङ्क जोड्दै अङ्क तालिकाको पाँचौँ स्थानमा रहँदै पोखराले आफ्नो अभियान टुङ्ग्याएको थियो । यसपटक पहिलो खेलमै विजयी भएर प्रतियोगितामा सानदार सुरुआत गर्ने पोखराको रणनीति छ ।
यता, लगातार अघिल्ला दुवै संस्करणमा उपविजेतामा चित्त बुझाएको सुदूरपश्चिम रोयल्स भने आज पहिलो अङ्क जोड्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ । सुदूरपश्चिम यसअघि गत कात्तिक ९ गते भएको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भइसकेको छ । पहिलो खेलको हार बिर्संदै बलियो लयमा फर्कने दबाब र दाउमा सुदूरपश्चिम रहेको छ ।
