काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी आवेदन खुला गरेको छ । रास्वपाले पछिल्लो निर्णयअनुसार महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदहरूका लागि आवेदन खुला गरेको हो ।
पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पार्टीको विशेष संयन्त्र ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन खुला गरिएको छ । आइतबार विज्ञप्ति जारी गर्दै प्रवक्ता खरेलले भनेका छन्, “महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदहरूमा पार्टीका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन खुला गर्ने निर्णय गरिएको छ।”
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको ‘स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’को बैठकले यो निर्णय गरेको हो । पार्टीका महामन्त्री एवं समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा बसेको बैठकले उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनका लागि विभिन्न उपसमितिहरू समेत गठन गरेको छ ।
