१६ कात्तिक, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई वटा खेलहरू हुँदैछन् । आजको पहिलो खेलमा कर्णाली याक्स र काठमाडौं गोर्खाज आमनेसामने हुँदा दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।
निर्धारित तालिका अनुसार पहिलो खेल मध्यान्ह १२:३० बजे र फ्लडलाइटमुनि हुने दोस्रो खेल साँझ ५:०० बजे सुरु हुनेछ। लिग चरणको अंक तालिकामा आफ्नो स्थिति बलियो बनाउन चारै टिमका लागि आजको दिन निकै महत्वपूर्ण मानिएको छ ।
आजको पहिलो खेलमा मैदान उत्रिने कर्णाली याक्स अहिलेसम्म अपराजित रहँदै उत्कृष्ट लयमा देखिएको छ । यसअघि खेलेका दुवै खेलमा जित निकाल्दै ४ अंक जोडेको कर्णाली आज पनि सोही लयलाई निरन्तरता दिँदै अंक तालिकाको शीर्ष स्थानमा आफ्नो पकड अझ मजबुत पार्ने रणनीतिमा छ । यसअघि कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले र दोस्रो खेलमा विराटनगर किङ्ग्सलाई ४ विकेटले पराजित गरेको थियो ।
ब्याटिङ र बलिङ दुवै विभागमा सन्तुलित प्रदर्शन गरिरहेको कर्णालीविरुद्ध पहिलो जितको खोजीमा रहेको काठमाडौं गोर्खाज उत्रनेछ । जारी प्रतियोगितामा काठमाडौंले यसअघि खेलेको एक मात्र खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटको हार व्यहोरेको थियो। आजको खेल जितेर काठमाडौं खाता खोल्ने दाउमा छ ।
साँझ हुने दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच कडा प्रतिस्पर्धा हुनेछ । चितवनले यसअघि खेलेका दुई खेलमध्ये एकमा जित निकालेको छ भने लुम्बिनी लायन्सविरुद्धको खेल वर्षाका कारण नतिजाविहीन बन्न पुगेको थियो ।
यता, सुदूरपश्चिम रोयल्सले भने अहिलेसम्म ३ खेल खेलिसकेको छ, जसमध्ये १ मा जित र २ मा हार बेहोरेको छ। पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई हराए पनि तेस्रो खेलमा विराटनगर किङ्ग्ससँग ३५ रनले पराजित हुन पुगेको थियो। आजको खेल दुवै टिमका लागि जितको लय समात्न अहम् रहनेछ ।
यसैबीच, एनपीएलअन्तर्गत आइतबार भएको एकमात्र खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दै महत्त्वपूर्ण अंक जोड सफल भएको थियो।
