वीरगञ्ज । बारामा प्रहरीले ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थसहित दुई युवकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगन्ज र प्रहरी चौकी मुसहर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार बारा जिल्लाको विश्रामपुर गाउँपालिका–४ बलिरामपुर चेकपोस्टमा भारतबाट नेपालतर्फ आउँदै गरेको ना.१२ प ३७१६ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद भएको हो ।
मोटरसाइकलको अगाडिको भाइजरमा प्लास्टिकसहित ५.७८ ग्राम र प्लास्टिकबाहेक ४.५१ ग्राम उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ निवासी २२ वर्षीय विशाल सहनी र सोही मोटरसाइकलमा पछाडि सवार २६ वर्षीय रोशन कुशवाहा रहेका छन् ।
प्रहरीले दुवै जनालाई पक्राउ गरी बारा जिल्ला अदालत कलैयाबाट सात दिनको म्याद थप गरेको छ । उनीहरूमाथि इलाका प्रहरी कार्यालय प्रसौनीबाट थप अनुसन्धान भइरहेको सूचना अधिकारी घलेले जानकारी दिएका छन् ।
