काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव र बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’ को प्रभावका कारण देशका अधिकांश भूभागमा मौसम पूर्णतया प्रतिकूल बनेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल देशभर साधारणतया बदली रहेको छ भने कोशी, बागमती र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
चक्रवातको प्रभाव आज र भोलि झन् व्यापक बन्ने देखिएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुनेछ ।
विशेषगरी मधेस, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा हुरीबतास चल्ने सम्भावना छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारीदेखि ‘अति भारी वर्षा’ र हिमपातको समेत उच्च जोखिम रहेको छ। रातिको समयमा पनि यो क्रम निरन्तर जारी रहनेछ ।
प्रतिकूल मौसमको यो अवस्था आगामी केही दिनसम्म कायम रहने हुनाले सरकारले विशेष सतर्कता अपनाउन अपिल गरेको छ । पाक्न लागेको धानबाली भित्र्याउनेलगायतका कृषिजन्य कार्यहरू आज र भोलि पूर्ण रूपमा स्थगित गर्न किसानहरूलाई आग्रह गरिएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको तीव्र जोखिम रहेकाले पर्यटक तथा पर्वतारोहीहरूलाई उक्त क्षेत्रमा नजान र हाल त्यहाँ रहेकाहरूलाई मौसम अनुकूल नभएसम्म सुरक्षित आश्रयस्थलमा रहन सचेत गराइएको छ ।
लगातारको वर्षाका कारण अचानक चिसो बढ्न सक्ने, पहाडी मार्ग तथा सडक किनारमा पहिरो खस्ने तथा आन्तरिक हवाई उडान र सडक यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सम्पूर्ण नागरिक र सम्बन्धित निकायलाई उच्च पूर्वतयारी एवं सतर्कता अपनाउन महाशाखाले जोड दिएको छ ।
