काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को अवशेष तथा पश्चिमी वायुको संयुक्त प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा वर्षा र हिमपात भइरहेको छ । बिहीबार साँझदेखि नै देशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको र आज दिनभर नै मौसम प्रतिकूल रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश स्थानमा बादलभरी मौसम रहनेछ भने सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ ।
कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थान, गण्डकीका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
विशेषगरी कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा भने हल्का वर्षाको अनुमान गरिएको छ ।
आज राति पनि देशका अधिकांश भूभागमा साधारणतया बदली रही हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको क्रम जारी रहन सक्नेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राहतको खबर यो छ कि, हिजोदेखि जनजीवन प्रभावित पार्दै आएको यस प्रणालीको प्रभाव आज अपराह्नदेखि भने क्रमिक रूपमा कमजोर हुँदै जाने मौसम विभागले जनाएको छ ।
चक्रवातको अवशेष र पश्चिमी वायुको असर हट्दै गएसँगै भोलिदेखि मौसममा सुधार हुने अपेक्षा गरिएको छ । लगातारको वर्षा र चिसोका कारण धानबाली लगायतका कृषि कार्य प्रभावित भएको छ भने उच्च पहाडी क्षेत्रका केही स्थानमा हिमपात भएकाले सतर्क रहन विभागले सबैमा अपिल गरेको छ ।
