१३ कात्तिक,वीरगञ्ज । बारामा जोगीको भेषमा हिँडडुल गरिरहेका एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजाजस्तो देखिने पदार्थसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बारा र अस्थायी प्रहरी पोष्ट इनर्वासिराबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्तीका क्रममा प्रसौनी गाउँपालिका–६ प्रस्टोकाबाट भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी, आदापुर थाना काण्डा वडा नम्बर ४ का ६५ वर्षीय शम्भु सहनीलाई शंकास्पद अवस्थामा फेला पारेको थियो ।
जोगीको भेषमा हिँडिरहेका सहनीलाई शंका लागेर जाँच गर्दा उनको साथबाट ५०० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोधपुछका क्रममा सहनीले उक्त पदार्थ प्रसौनी गाउँपालिका–७ बलुवा टोलका ४५ वर्षीय अच्छेलाल सहनीको घरबाट खरिद गरेर ल्याएको बताएका थिए ।
त्यसपछि प्रहरीले अच्छेलाल सहनीको घरमा खानतलासी गर्दा थप ८ किलो ७०० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको थियो ।
प्रहरीले दुवै जनालाई पक्राउ गरी लागुऔषध कसुरमा मुद्दा दर्ता गरेको छ । उनीहरूलाई बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
बरामद भएको पदार्थको कुल परिमाण ९ किलो २०० ग्राम रहेको प्रहरीले जनाएको छ ।
