सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा स्थानीय ५६ वर्षीय झनकबहादुर ठकुरी रहेका छन् । उनको घरमा अवैध रूपमा गाँजा लुकाएर राखिएको भन्ने विशेष गोप्य सूचनाका आधारमा प्रहरीले मङ्गलवार उनको घर तथा आसपासका क्षेत्रमा खानतलासी गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालको नेतृत्वमा खटिएको प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारको संयुक्त टोलीले सो कारबाही चलाएको हो ।
प्रहरीले ठकुरीको घरभित्र खानतलासी गर्दा ३ किलो ५२० ग्राम गाँजा फेला पारेको थियो। थप खोजी गर्ने क्रममा घरबाट करिब ५० मिटर पूर्व सरे खोलाको कासघारीमा लुकाएर राखिएको अवस्थामा थप १२ किलो ७५० ग्राम गाँजा बरामद भएको हो । दुवै स्थानबाट गरी कुल १६ किलो २७० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
अवैध गाँजासहित नियन्त्रणमा लिइएका ठकुरीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखिएको छ । उनीमाथि लागुऔषध नियन्त्रण ऐनअनुसार मुद्दा दर्ता गरी थप गहन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
