वीरगञ्ज । पर्सामा सुरक्षाकर्मीको ‘घुमुवा’ हुँ भन्दै भन्सार छलीका सामान पास गराइदिने र विभिन्न व्यक्तिहरूसँग अवैध रूपमा रकम असुली गर्ने एक बिचौलिया पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारीअनुसार पर्साको पोखरिया नगरपालिका–५ निवासी ५१ वर्षीय अशोक कुमार बर्णवाललाई गत कात्तिक ६ गते पोखरियाबाटै पक्राउ गरिएको हो ।
बर्णवालले आफू नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको ‘घुमुवा’ प्रहरी भएको र उच्च सुरक्षा अधिकारीहरूसँग राम्रो चिनजान रहेको झूटा प्रभाव पार्ने गरेको प्रहरीले जनाएको छ । उनले भन्सार छली गरी ल्याइएका चोरी–तस्करीका सामानहरू सहजै पास गराइदिने आश्वासन दिँदै व्यापारी तथा सर्वसाधारणबाट मोटो रकम असुल्ने गरेका थिए ।
रकम दिन अस्वीकार गर्ने वा अटेर गर्ने व्यक्तिहरूलाई प्रहरी लगाएर सामान पक्राउ गराइदिने भन्दै धम्की दिने गरेको पाइएको छ। यस्ता अवैध गतिविधिबारे विशेष सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
बिचौलियाको काम गर्दै आएका बर्णवालमाथि केवल तस्करीको लाईन मिलाउने मात्र नभई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सेवामा विभिन्न व्यक्तिहरूलाई जागिर लगाइदिने प्रलोभन देखाएर मोटो रकम ठगी गरेको गम्भीर आरोपमा समेत अनुसन्धान भइरहेको छ ।
घटनाबारे पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले पक्राउ परेका बर्णवालमाथि अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जानकारी दिए ।
