चितवन । अविरल वर्षाका कारण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ । इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सी खोला पुलमाथि लेदोसहितको भीषण पहिरो खसेपछि आइतबार बिहान ७:५५ बजेदेखि सडक यातायात ठप्प भएको हो ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार वर्षासँगै डाँडाबाट ठूलो परिमाणमा गेगर र लेदोमाटो खसेर सडक ढाकेको छ । पहिरोका कारण काठमाडौँ र पोखरालाई देशको पूर्वी तथा पश्चिमी भूभागसँग जोड्ने यो मुख्य राजमार्गमा दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।
सडक डिभिजन भरतपुरले पहिरो पन्छाएर यातायात सञ्चालन गर्नका लागि डोजर र लोडरसहितका उपकरणहरू घटनास्थलमा परिचालन गरिसकेको जनाएको छ। निरन्तरको वर्षा र लेदो खस्ने क्रम जारी रहे तापनि द्रुत गतिमा काम भइरहेको छ ।
“पहिरो हटाउन उपकरणहरू प्रयोग भइसकेका छन्,” सडक डिभिजन भरतपुरका अधिकारीहरूले भने, “मौसमले साथ दिएमा र थप ठूलो पहिरो नखसेमा आगामी दुई घण्टाभित्र पहिरो पन्छाएर सडक एकतर्फी वा दुवैतर्फ सञ्चालनमा ल्याउने अनुमान छ।”
सडक अवरुद्ध हुँदा सयौँ यात्रु तथा मालवाहक सवारी साधनहरू बीच बाटोमै रोकिएका छन् । सडक डिभिजन र प्रहरीले पहिरो पन्छिन समय लाग्ने भएकाले यात्रुहरूलाई धैर्यधारण गर्न तथा सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेका छन् ।
