काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि अवैध सुन तस्करीको ठूलो प्रयास असफल भएको छ । कतारको दोहाबाट काठमाडौं ओर्लिएका एक भारतीय नागरिकसहित दुई जना सुनसहित विमानस्थल क्षेत्रबाट पक्राउ परेका छन् । विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा भारतका ४२ वर्षीय मोहम्मद चेरा थोडी रहेका छन् ।
उनलाई विमानस्थलको पार्किङ एरियाबाट शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो, जसको साथबाट ५३६ ग्राम अवैध सुन बरामद भएको छ । यसैगरी, सोही उडानमार्फत कतारबाटै नेपाल आएका बाराको पचरौता नगरपालिका–१ पिपरपाटीका ३३ वर्षीय अनिश अन्सारी पनि सुनसहित पक्राउ परेका छन् । जाँचका क्रममा उनको साथबाट ६९ दशमलव ६ ग्राम सुन फेला परेको प्रहरीले जनाएको छ ।
अवैध रूपमा लुकाएर सुन भित्र्याउन खोज्ने दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जानकारी दिएको छ ।
