जनकपुरधाम । वीरगञ्जमा लागू औषध ब्राउन सुगर र अफिम सहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार लागू औषध खरिद विक्री कार्य भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा यस कार्यालय तथा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्ज पर्साबाट खटिएको संयुक्त प्रहरी विशेष टोलीले गएराति चेकजाँचको क्रममा ब्राउन सुगर १ सय ५४ ग्राम तथा ११ ग्राम ५९ मिलिग्राम अफिम सहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला पर्सा छिपहरमाई गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष ४६ को रेयाज आलम र पर्सा जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ माधोपुर बस्ने वर्ष ३७ को सन्तोष प्रसाद पटेल रहेका छन् ।
प्रहरीका अनुसार गएराति वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित चालीस फिट्टे सडकखण्डमा बिआर०५ बिएल १६८० नम्बरकोको अपाचे मोटर साइकलमा सवार भएर जाँदैगर्दा शंका लागि चेकजाँचको क्रममा उनीहरुको लुकाईछिपाइ राखेको अवस्थामा पाईन्टको खल्तीबाट ब्राउन सुगर फेला परेको जनाएको छ ।
पक्राउ परेका पटेलको घर खानतलासीको क्रममा अफिम फेला परेको प्रहरीले जनाएको छ । मोटरसाईकल सहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानको लागि हिरासतमा राखिएको पर्सा प्रहरी प्रवक्ता एवं डीएसपी चक्र बहादुर मल्लले बताए ।
