बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा पुनः बालिकामाथि बलात्कारको दुखद् घटना दोहोरिएको छ । जीतपुरसिमरा–१९ इनर्वासिरामा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ६० वर्षीय हसनजान मियाँलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे जानकारी पाउने बित्तिकै बिहीबार राति साढे ९ बजे इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले आरोपित मियाँलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयवासी आक्रोशित भई अवरोध गरेपछि केही बेर इनर्वासिरा क्षेत्र तनावग्रस्त बनेको थियो ।
आक्रोशीत स्थानीयले आरोपितलाई कानुनी कारबाही पर्याप्त नहुने भन्दै आफूहरूले नै सजाय दिने अडान राखेका कारण भिड अनियन्त्रित बनेको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रण बाहिर जाने देखिएपछि जिल्ला प्रहरी कार्यालय बारा कलैयाबाट अतिरिक्त सुरक्षा बल घटनास्थल खटाइएको थियो । प्रहरीले बल प्रयोग गरी भिडलाई तितरबितर पारेपछि आरोपित मियाँलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिमरा पुर्याएको छ ।
बारामा केही साताअघि मात्रै जीतपुरसिमरा–१ की ३ वर्षीया बालिकाको बलात्कारपछि निर्मम हत्या भएको थियो । उक्त बीभत्स घटनाको चोट सेलाउन नपाउँदै पुनः ५ वर्षीया बालिकामाथि जबरजस्ती करणीको घटना घटेपछि स्थानीयवासी अत्यन्तै आक्रोशित र त्रसित बनेका छन् । पक्राउ परेका मियाँमाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
