वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) पर्साका जिल्ला अध्यक्ष तबरेज अहमद नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार वीरगञ्जमा आयोजित कार्यक्रममा अहमदले जसपा परित्याग गरी नेपाली कांग्रेसको सदस्यता लिएका हुन्। उनलाई कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउद्योगमन्त्री रमेश रिजालले गम्छा ओढाएर पार्टीमा स्वागत गरेका थिए।
अहमद राष्ट्रिय भूमि समस्या समाधान आयोग पर्साका निवर्तमान अध्यक्षसमेत हुन्। मधेस आन्दोलनदेखि नै मधेस केन्द्रित दलमा आबद्ध भएर राजनीतिमा सक्रिय रहेका उनले यसअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको जिल्ला सचिवको जिम्मेवारीसमेत सम्हालेका थिए।
कांग्रेस प्रवेशपछि अहमदले मधेस आन्दोलनलगायतका राजनीतिक आन्दोलनबाट प्राप्त संघीयता, लोकतन्त्रलगायतका उपलब्धिलाई संस्थागत गर्ने काम कांग्रेसले मात्रै गर्न सक्ने विश्वासका कारण आफू कांग्रेसमा प्रवेश गरेको बताए।
कांग्रेस बलियो भए मात्रै संघीयता, लोकतन्त्रलगायतका उपलब्धि संस्थागत हुनसक्ने आफ्नो बुझाइ रहेको बताउँदै उनले देशले युवा नेतृत्व खोजिरहेका बेला कांग्रेस पनि त्यसतर्फ अग्रसर भएकाले आफूले कांग्रेस रोजेको बताए।
कार्यक्रममा पूर्वमन्त्री रिजालले शिक्षित तथा बौद्धिक युवा अहमदको पार्टी प्रवेशले पर्सा क्षेत्र नम्बर ४ मा कांग्रेस थप मजबुत हुने विश्वास व्यक्त गरे।
कांग्रेस क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको अध्यक्षता तथा पूर्वमन्त्री रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मधेस प्रदेशका वनमन्त्री शंकर चौधरी, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, जिल्ला सहसचिव नवीन सिंह, नेता वशिष्ठ नारायण कुर्मी, क्षेत्रीय सचिव बलिष्टर अहमदलगायतको उपस्थिति थियो।
