काठमाडौं । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट करिब ११ दिनअघि अपहरणमा परेका १५ महिनाका बालक सिधान्त महतोको प्रहरीले सकुशल उद्धार गरेको छ ।
आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा भदौ १८ गते अपराह्न हराएका बालकलाई नेपाल तथा भारतका विभिन्न स्थानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले विशेष अनुसन्धानमार्फत भदौ २९ गते फेला पारेको हो । घटनामा संलग्न रहेको आरोपमा कमला नगरपालिका–९ हथलेट्वाकी करिब ४१ वर्षीया पुनिता देवी पासवानलाई समेत प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
बालक हराएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी उपरीक्षक रुपेश खड्काको कमान्डमा ६० जनाको विशेष प्रहरी टोली, तालिमप्राप्त कुकुर तथा मधेश प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रादेशिक सूचना विश्लेषण र अनुसन्धान समूहले तीव्र खोजी अभियान चलाएको थियो ।
प्रहरीको कडा निगरानी र घेराबन्दीमा परेपछि अपहरणकारी महिलाले भदौ २९ गते दिउँसो बालकलाई पीडितको घरदेखि करिब ३०० मिटर दक्षिणतर्फ सडकछेउमा छाडेर फरार भएकी थिइन् । लगत्तै प्रहरीले बालकलाई उद्धार गरी स्वास्थ्य परीक्षण गराएर सकुशल रूपमा अभिभावकको जिम्मा लगाएको छ ।
बालकलाई छाडेर भागेकी आरोपित पुनिता देवी पासवानलाई प्रहरीले सोही दिन साँझ विदेह नगरपालिका–१ महिनाथपुरस्थित दशगजा क्षेत्रबाट भारततर्फ भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार पक्राउ परेकी महिलाविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अहिले आवश्यक अनुसन्धान भइरहेको छ ।
