सिरहा । सिरहा प्रहरीले १६ ग्रामभन्दा बढी अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष ‘स्वीप अप्रेसन’ टोलीले सोमबार सिरहा नगरपालिका–२ स्थित छोट्की टोलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले प्रदेश ३–०२–०१३ प ६४१२ नम्बरको मोटरसाइकललाई शङ्कास्पद अवस्थामा रोकी जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारेको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सिरहाको कल्याणपुर नगरपालिका–७ बस्ने २४ वर्षीय कमलेश कुमार साफी र सोही ठाउँका ३२ वर्षीय मोटरसाइकल चालक सन्तोष यादव रहेका छन् ।
उनीहरूको साथबाट १६ ग्राम १४० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेश बहादुर पालका अनुसार पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ ।
उनीहरूमाथि लागूऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
