५ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम गर्दै उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले बढेर ३ लाख १६ हजार ७ सय रुपैयाँ पुगेको छ। बिहीबार सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
एक सातामै सुनको मूल्य प्रतितोला १५ हजार १ सय रुपैयाँले बढेको छ। गत शुक्रबार ३ लाख १ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य यस साता ३ लाख १६ हजार ७ सय रुपैयाँ पुगेको हो।
सुनसँगै चाँदीको मूल्यसमेत बढेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँ पुगेको छ। बिहीबार ४ हजार ८ सय ५५ रुपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला १ सय ३० रुपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धि र नेपाली बजारमा बढ्दो मागको प्रभावले सुनको भाउ निरन्तर उकालो लागेको व्यवसायीहरू बताउँछन्। मूल्य लगातार बढेपछि सुनचाँदी खरिद गर्ने उपभोक्ता भने थप मारमा परेका छन्।
