५ भदौ,वीरगञ्ज । बारामा तीन वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै वीरगञ्जमा शुक्रबार बिहान विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
बिहान ७ बजेपछि विभिन्न विद्यालय तथा कलेजका विद्यार्थी सडकमा उत्रिएका थिए। उनीहरूले बालिकाका लागि न्याय र घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ‘न्याय चाहिन्छ, बहाना होइन’ र ‘Justice for Garima’ लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए।
प्रदर्शनमा ठूलो संख्यामा विद्यार्थी सहभागी भएका थिए। उनीहरूले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न तथा यस्ता जघन्य अपराधमा संलग्न व्यक्तिलाई कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
विद्यार्थीहरूले बालबालिकामाथि हुने हिंसा तथा यौनजन्य अपराध नियन्त्रणका लागि प्रभावकारी सुरक्षा व्यवस्था र दोषीमाथि शीघ्र न्यायिक प्रक्रिया अघि बढाउनसमेत आग्रह गरेका छन्।
