सिमरा, ६ भदौ। तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणमा न्यायको माग गर्दै स्थानीयवासीले गरेको प्रदर्शनका कारण वीरगञ्ज–पथलैया सडकखण्ड लगातार चौथो दिन पनि अवरुद्ध भएको छ।
गत बुधबार बिहान ११ बजेदेखि अवरुद्ध सडकको सिमरा क्षेत्रमा स्थानीयवासीले टेन्ट टाँगेर धर्ना तथा प्रदर्शन जारी राखेका छन्। उनीहरूले घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्यायको सुनिश्चितता गर्नुपर्ने माग गरेका छन्।
आन्दोलनका कारण वीरगञ्ज–पथलैया सडक हुँदै सञ्चालन हुने सवारीसाधन प्रभावित भएका छन्। स्थानीयवासीले आफ्ना माग पूरा नभएसम्म सडकबाट आन्दोलन नहटाउने अडान लिएका छन्।
यसअघि बिहीबार राति स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको रोहबरमा आन्दोलनरत पक्षसँग पाँचबुँदे सहमति भएको थियो। तर मृतक बालिकाका परिवारले उक्त सहमति आफूहरूलाई मान्य नभएको बताएका छन्।
घटनापछि स्थानीयवासीले इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुखको लापरबाहीका कारण घटना भएको आरोप लगाउँदै उनको सरुवाको माग गरेका थिए। आन्दोलन चर्किएपछि डीएसपी दिलीप क्षेत्रीको सरुवा गरिएको थियो। त्यसपछि प्रशासन र स्थानीयबीच पाँचबुँदे सहमति भएको थियो।
तर मध्यरातमा भएको सहमतिमा आफ्नो सहमति नरहेको भन्दै मृतक बालिकाका परिवारले आन्दोलनलाई निरन्तरता दिएका हुन्। गरिमाका परिवारलाई समर्थन गर्न जीतपुरसिमरा उपमहानगरपालिकासहित बाराका विभिन्न क्षेत्रबाट स्थानीयवासी सिमरा सडकमा जम्मा भइरहेका छन्।
प्रदर्शनकारीले बालिकाको हत्या प्रकरणमा संलग्न दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरेका छन्।
यसैबीच, मृतक बालिकाको शव अझै कलैया अस्पतालमा राखिएको छ। परिवारले न्यायको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन्।
स्थानीय प्रशासनले सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको भए पनि परिवार तथा स्थानीयवासीले माग पूरा नभएसम्म धर्ना नहटाउने अडान लिएपछि वीरगञ्ज–पथलैया सडकखण्डको अवरोध कायमै रहेको छ।
