५ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–४ विर्तास्थित बाल सुधार गृहबाट लागुऔषधसम्बन्धी कसुरमा सजाय भोगिरहेका १७ वर्षीय किशोर फरार भएका छन्।
फरार किशोर चार दिनदेखि सम्पर्कविहीन छन्। प्रहरीले उनको खोजीका लागि विभिन्न स्थानमा टोली परिचालन गरे पनि हालसम्म फेला पार्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० चक्रबहादुर मल्लका अनुसार ती किशोर मंगलबार बिहान करिब साढे ५ बजे सुधार गृहको पछाडिपट्टिको झ्यालबाट हाम फालेर फरार भएका हुन्।
प्रहरीका अनुसार बिहानको समयमा सुधार गृहको गतिविधि कम भएको मौका पारेर उनी झ्यालबाट बाहिरिएका थिए। फरार भएपछि प्रहरीले तत्कालै खोजी सुरु गरेको थियो।
सर्लाहीको गोडैता नगरपालिका घर भएका ती किशोरलाई लागुऔषधसम्बन्धी कसुरमा अदालतको फैसलापछि बाल सुधार गृहमा राखिएको थियो। अदालतको फैसला भएको करिब एक साताअघि मात्रै उनलाई सुधार गृहमा ल्याइएको प्रहरीको भनाइ छ।
फरार किशोरको खोजी भइरहेको र सम्भावित स्थानमा प्रहरी परिचालन गरिएको डीएसपी मल्लले जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धानसमेत गरिरहेको जनाएको छ।
