काठमाडौँ, ५ भदौ — प्रहरीले मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा खानतलासी गरी विभिन्न विद्युतीय सामग्री नियन्त्रणमा लिएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले बिहीबार प्रसाईंको निवासमा छापा मारेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) शरतकुमार थापाको नेतृत्वमा खटिएको टोलीले प्रसाईंले प्रयोग गर्दै आएका ६ थान मोबाइल, एक थान ल्यापटप तथा घरमा जडान गरिएको सीसीटीभीको डीभीआर बक्स नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकारीका अनुसार नियन्त्रणमा लिइएका विद्युतीय सामग्री अनुसन्धानका लागि प्रयोग गरिनेछन्।
लघुवित्त प्रभावितहरूलाई आन्दोलनमा उतारेको तथा आन्दोलनलाई भड्काउन खोजेको निष्कर्षका आधारमा प्रहरीले गत साउन ३१ गतेदेखि प्रसाईंलाई २४ घण्टा निगरानीमा राख्दै आएको बताइएको छ।
केही दिनदेखि ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडि लघुवित्तपीडितहरूले धर्ना दिँदै आएका छन्। उक्त आन्दोलन थप भड्किन सक्ने आशंकामा प्रहरीले प्रसाईंको निवासमा निगरानी बढाउनुका साथै विद्युतीय प्रमाण संकलन गर्ने क्रममा खानतलासी गरेको जनाएको छ।
