वीरगञ्ज । मधेस प्रदेशका विभिन्न जिल्लामा कृषि सिँचाइ तथा खानेपानी आयोजनाका लागि जडान गरिएका ट्रान्सफर्मर शृङ्खलाबद्ध रूपमा चोरी हुन थालेपछि स्थानीय किसान र सर्वसाधारण समस्यामा परेका छन् ।
हालै महोत्तरीको औरही–१ मा सिँचाइका लागि जडान गरिएको १०० केभी क्षमताको ट्रान्सफर्मर तथा धनुषाका क्षिरेश्वरनाथ र मिथिला नगरपालिकामा खानेपानी आयोजनाका ट्रान्सफर्मरहरू चोरी भएका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै प्रदेशभरि ३३ वटा ट्रान्सफर्मर चोरी भएका छन् । तथ्याङ्कअनुसार सबैभन्दा बढी महोत्तरीमा ११ वटा, सप्तरीमा ७ वटा, धनुषा र बारामा ४–४ वटा, सर्लाहीमा ३ वटा, सिरहा मा २ वटा र रौतहटमा १ वटा ट्रान्सफर्मर चोरी भएका हुन् ।
विगत पाँच वर्षको तथ्याङ्क हेर्दा प्रदेशमा कुल १०१ वटा ट्रान्सफर्मर चोरी भइसकेका छन् । चोरहरूले मुख्य गरी गाउँभन्दा केही पर चौर वा खेतमा रहेका सिँचाइ र खानेपानीका ट्रान्सफर्मरलाई निशाना बनाउँदै पोलबाट झारेर भित्रका तामाका क्वाइल र तेल चोरी गर्ने गरेका छन् ।
ट्रान्सफर्मर जोगाउन वेल्डिङ गर्दासमेत चोरहरूले कटर प्रयोग गरेर चोरी गर्ने गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र सखुवा महेन्द्रनगरका प्रमुख मकसुद आलमले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालयका अनुसार प्रदेशभर करिब ८ हजार ट्रान्सफर्मर जडान गरिएका छन्, जसको सुरक्षामार्फत लगातार आपूर्ति कायम राख्न प्राधिकरण र प्रहरी दुवैलाई चुनौती थपिएको छ ।
मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीले घटना नियन्त्रणका लागि गस्ती बढाउनुका साथै स्थानीय जनतालाई पनि सतर्क रहन र निगरानी बढाउन आग्रह गरिएको बताएका छन् ।
